सभामुख देवराज घिमिरेले प्लास्टिकले हाम्रो जीवनमा पार्ने असरबारे ज्ञान भएपनि व्यवहारमा नउतार्दा यसको प्रभाव बढेको बताएका छन्।
शुक्रवार डिप्लोमा इन्जिनियर एसोसिएसन, नेपालको ४५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले प्लास्टिकको प्रयोग नियन्त्रण गर्न व्यवहारिक रूपमा जानुपर्ने बताएका हुन्।
‘हाम्रो व्यवहारमा ज्ञानको अभावमा काम नहुने तर ज्ञान भएपनि काममा नउतार्ने परिपाटी छ। प्लास्टिकले पार्ने असरमा समाजमा ज्ञान प्राप्त हुँदै आएको छ। तर त्यसलाई न्यून गर्न वा नियन्त्रण गर्नुपर्छ भन्ने व्यवहारीकरुपमा जाने कुराको अभाव छ,’ उनले भने।
उनले प्लास्टिक नियन्त्रणका लागि ऐन, कानुन मात्र नभई कार्यान्वयनका उपाय खोज्नुपर्ने बताए।
उनले भने,‘यसको मनिटरिङ कसरी गर्ने, कसले गर्ने, कार्यान्वयनमा जानको लागि कुन तहबाट ऐन, कानुन, विधि बनाउने मात्र नभई कार्यान्वयन नहुँदा नियन्त्रणको लागि उपायहरू खोज्नुपर्ने अवस्था छ।’
यसैगरी निवर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आफ्नो विगत सम्झँदै इन्जिनियर संस्थासँग रहेर प्राविधिक काम गर्न पाउँदा खुसी लागेको बताए। उनले डिप्लोमा इन्जिनियर एसोसिएसन, नेपालको ४५ औँ वार्षिकोत्सवलाई शुभकामना दिँदै भविष्यमा राष्ट्र निर्माण गर्नको लागि योगदान दिइरहेको बताए।
कार्यक्रममा बागमती प्रदेश सरकारका योजना आयोगका पूर्वउपाध्यक्ष एवम् प्रदेश सांसद डा.दिनेशचन्द्र देवकोटाले नेपालको आर्थिक, सामाजिक रूपान्तरण गर्न डिप्लोमा इन्जिनियर एसोसिएसनको भूमिका महत्त्वपूर्ण रहेको औँल्याए।
‘डिप्लोमा इन्जिनियर एसोसिएसनमा करिब ३० हजारभन्दा बढी सदस्य आबद्ध भएर काम गरिरहेका छन्। नेपालको आर्थिक सामाजिक रूपान्तरण गर्ने काममा यो सङ्गठनको महत्त्वपूर्ण भूमिका छ,’ उनले भने।



















