कार्यक्रममा बोल्दै नगर प्रमुख राईले शवदाह गृह निर्माणको प्रेरणा एक छिमेकी बहिनीबाट पाएको उल्लेख गर्दै भावुक बनाउँदै आफ्नो अनुभव सुनाए। “नगर प्रमुख भएको दुई–चार दिनमै एक छिमेकी बैनीले हाम्रो बेलबारीमा अन्तिम धाम, समाधि स्थल व्यवस्थित छैन, तपाईको पालामा केही हुनुपर्छ भनेर भन्नुभयो। त्यो शब्दले मलाई भित्रसम्म बिझायो,” राईले सुनाए।
त्यसपछि बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग सल्लाह गरेर तीन स्थानमा—७, ३ र ९ नम्बर वडामा शवदाह स्थलव्यवस्थापनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको बताए। “७ र ३ नम्बर वडाबाट बजेट स्वीकृत गराएर काम अघि बढाइयो। दोस्रो आर्थिक वर्षमै सम्पन्न गर्ने योजना थियो, तर कामको सिलसिलामा केही ढिलाइ भयो,” उनले स्पष्ट पारे।
योजनाको कार्यान्वयनका क्रममा सामाजिक सञ्जालमा आएको आलोचना पनि नगर प्रमुख राईले कार्यक्रममा स्मरण गरे। “यो डीपी सरलाई के भएको स्कुल नबनाएर पैसा घाटमै खर्च गरिएको भन्ने टिप्पणी सुनियो। शिक्षामा लगानी गरिएन भन्ने आरोप लाग्यो,” उनले भने, “तर म चुपचाप बसेँ।”
नगर प्रमुख राईले समाजमा शिक्षा जत्तिकै जीवनको अन्तिम चरणको व्यवस्थापन पनि महत्वपूर्ण हुने धारणा व्यक्त गरे। “जनताले बुझ्न जरुरी छ — असल मान्छे जन्मिएदेखि लिएर मृत्युपश्चातको व्यवस्थासम्म राज्यकै दायित्व हो। यस्तो संरचना खर्च होइन, सामाजिक उत्तरदायित्व हो भन्ने कुरा आलोचना गर्नेहरूले बुझ्न सकेनन्,” उनले प्रष्ट पारे।