मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भई विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

मङ्गलबार दिउँसो चित्लाङबाट बाराको लालबन्दी आउँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ को गाडी सडकदेखि करिब २० मिटर तल खसेर भीमफेदी गाउँपालिकास्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठी मोडमा दुर्घटनामा परेको हो।

गाडी रुखमा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसे र सिमभञ्ज्याङ्गबाट खटिएको २५ जना प्रहरी टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।

गाडीमा सवार १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।