काठमाडौँ रानीबारी बस्ने सर्जु महर्जन नाम गरेका एक व्यक्तिले विभिन्न व्यावसायिक प्रयोजनका लागि महँगो मूल्यका क्यामेरा भाडा लिएर गायब गर्ने गरेको पाइएको छ।
क्यामेरा वा अन्य महँगा उपकरणहरू भाडामा दिने गरेका संस्था र व्यक्तिहरूबाट महर्जनले प्रक्रिया पूरा गरेर भाडामा लिने तर फिर्ता नगरी गायब गर्ने गरेको पाइएको हो। 
गत फागुन २ गते केही साताका लागि भनेर काठमाडौँको थापागाउँस्थित फिल्मक्रिउ नेपालबाट एफएक्सथ्री एक थान क्यामेरा, २४-७० को लेन्स साथै सोनी ब्रान्डको ७०-२०० एमएमको लेन्सलगायतका करिब १२ लाख बराबरको उपकरणहरू भाडामा लिएर फिर्ता नगरेको फिल्मक्रियू नेपालका सञ्चालक विष्णु कल्पित घिमिरेले जानकारी दिए। 
‘सम्पूर्ण कागजात र कबुल गरेर उहाँले तीन महिना अघि क्यामेरा लैजानुभयो। आजसम्म फिर्ता गर्नुभएको छैन। फिर्ता गर्छु भनेर आश्वासन मात्र दिइरहनुभएको छ। तर हामीले पाएको सूचना अनुसार उहाँले सस्तो मूल्यमा क्यामेरालगायत सबै उपकरण बिक्री गरिसक्नुभएको छ रे’, उनले भने,‘हामी प्रहरीलाई उजुरी दिने तयारीमा छौँ।’
महर्जनले अर्का एक जना अनोज पाण्डेबाट पनि ए–सेभेन एसथ्री क्यामेरा र २४-७० एमएमको लेन्च गरी ६ लाख मूल्य बराबरको उपकरण फिर्ता नगरेको पाइएको छ। त्यसअघि महर्जनले एक अर्का व्यक्तिको पनि क्यामेरा गायब बनाउने तयारी गरेपछि सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेपछि १५ दिन पछाडि फिर्ता गरेको पाइएको छ।
यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता युवराज खड्काले क्यामेराको विषय लेनदेनको विषय भएकाले स्थानीय तहका प्रहरी प्रशासनले हेर्ने बताए। सीआइबीले अपराधसँग सम्बन्धित मुद्दालाई मात्र अनुसन्धान गर्ने जानकारी दिए।