बेलबारी नगरपालिकाले ‘छात्रासँग उपमेयर’ कार्यक्रम सुरु गरेको छ। नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयका कक्षा ९ र १० का छात्राहरूसँग संवाद गर्दै उनीहरूले भोग्दै आएका समस्याका विषयमा प्रत्यक्षरूपमा जानकारी लिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

नगरपालिकाकी उप–प्रमुख नितु थापा कोइरालाका अनुसार छात्राहरुले विद्यालय र समुदायमा भोग्दै आएका विभिन्न सामाजिक, शैक्षिक र मानसिक समस्याहरुका बारेमा खुलस्त रुपमा बोल्न पाउने अवसरका रुपमा कार्यक्रम अगाडि बढाइएको हो।

कार्यक्रममा छात्राहरुले यौनजन्य हिंसा, मादक पदार्थ दुरुपयोग, लागूऔषध दुर्व्यसन, सुर्तिजन्य पदार्थको सेवन, सेनिटरी प्याड व्यवस्थापन, शिक्षक तथा साथीहरुको व्यवहार, समय व्यवस्थापन, मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोग, छात्रामैत्री शौचालयको अभाव तथा स्वास्थ्यसम्बन्धी समस्याहरुबारे आफ्ना अनुभव र गुनासो राखेका छन्।

उप–प्रमुख थापा कोइरालाले छात्राहरुको आवाज सुनेर नीतिगत तथा कार्यान्वयन तहमा सुधार ल्याउने प्रतिबद्धता जनाउँदै विद्यार्थीहरुसँग नियमित संवाद कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।

स्वास्थ्यसम्बन्धी जिज्ञासाको उत्तर दिन कार्यक्रममा सहभागी भएकी बेलबारी नगर अस्पतालकी मेडिकल अफिसर डा. जुना खड्काले छात्राहरुलाई यौन तथा प्रजनन स्वास्थ्य, मासिक धर्म व्यवस्थापन, मानसिक स्वास्थ्य लगायतका विषयमा जानकारी दिइन् साथै उनीहरुको प्रश्नहरुको उत्तर दिइन्।

यस कार्यक्रमलाई छात्रा–मैत्री र सुरक्षित शैक्षिक वातावरण निर्माणतर्फ एक महत्वपूर्ण कदमको रुपमा हेरिएको छ।