चैती छठ पर्वको आज (शुक्रवार) बिहान व्रतालुहरूले उदाउँदो सूर्य र छठी मातालाई अर्घ दिएसँगै यस वर्षको चैती छठ समापन भएको छ। व्रतालुहरूले यहाँको बाग्मती, बकैया, चाँदी नदी र पोखरी तथा जलाशय पुगी उदाउँदो सूर्य दिएका हुन्।    
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको अन्तिम दिन सप्तमी तिथि, आज बिहान व्रतालुहरूले फेरि छठ घाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रूपमा समापन भएको हो। गत मङ्गलवार देखि विधीवत रूपमा चैती छठ पर्व सुरु भएको थियो। 
छठ पर्वको प्रसाद छरछिमेक तथा आफन्तलाई दिने चलन छ। छठ प्रसादमा गहुँ वा चामलको पिठोबाट ठेकुवा, मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिँगडा, सुथनी, उखु लगायतका फलफूल हुन्। तराई मधेसवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरी वर्षमा दुई पटक मनाउने गर्दछन्।