काठमाडौँ उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ। आईक्यू एअरका अनुसार बिहीबार काठमाडौँको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ।
डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ। यसअघि गएको सोमबारदेखि हिजोसम्म २५० को हाराहारीमा वायु गुणस्तर मापन हुँदै आएको थियो।
विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म बादल लागेको छ। जसका कारण मानिसको स्वास्थ्यमा विभिन्न किसिमको समस्याहरू देखिनका साथै हवाई उडानमा समेत प्रभावित भइरहेको छ।
मौसमविद् रोजन लामिछानेले वन डढेलो, सुख्खापन, धुलो र धुवाँको कारण अहिले प्रदूषण बढिरहेको भन्दै मौसम पूर्वानुमान अनुसार अझै तीन दिनसम्म प्रदूषण यथावत् नै रहने जानकारी दिए।
शुक्रवार केही मात्रामा हावाहुरीको अवस्था अलिकति बढे पनि वर्षा अथवा मौसमको प्रणाली पनि नेपालमा नआइहाल्ने हुनाले प्रदूषण पूर्ण रूपमा हटाइहाल्ने अवस्था नरहेको उनी बताउँछन्।
उनले भने,‘विशेष गरी अहिले प्रि–मनसुनको सिजनमा छौँ। मार्च, अप्रिल, मे भनेर अङ्ग्रेजी महिना छन् त्यो समयमा चाहिँ हावाहुरी लाग्ने गर्छ। अहिले पानी नपरेको कारण सुख्खापन छ। विगत केही हप्तादेखि नै त्यो अवस्था देखिरहेको छ। त्यसको कारणले पनि प्रदूषण बढ्ने र वन डढेलाको कारण धुलो धुवाँले पनि तीन दिनसम्म प्रदूषण घट्ने अवस्था देखिँदैन। शुक्रवार केही मात्रामा हावाहुरीको अवस्था अलिकति बढे पनि प्रदूषण पूर्ण रूपमा हटाइहाल्ने अवस्था देखिएको छैन। त्यसैले केही दिन चाहिँ प्रदूषण तत्काल नहट्ने र वर्षा अथवा मौसमको प्रणाली पनि नेपालमा नआइहाल्ने हुनाले प्रदूषण यथावत् नै हुने देखिन् ।’
त्यस्तै उनका अनुसार अहिले बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेका छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै हवाईहरू प्रभावित भइरहेको पनि जनाए।
विगत केही दिन यता प्रदूषण र बिहानको समयमा बाक्लो तुवाँलो लागिरहने अवस्था सृजना भएको हुँदा आन्तरिक र बाह्य दुवै किसिमको हवाई उडानहरूमा प्रभावित भइरहेको उनले जानकारी दिए।
‘विगत केही दिन यता बिहानको समयमा बाक्लो तुवाँलो लागिरहने अवस्था छ। त्यो कारणले गर्दा आन्तरिक र बाह्य दुवै किसिमको हवाई उडानहरूमा पनि प्रभावित भइरहेको अवस्था छ। नेपालको भू–भाग अनुसार बिहान उडानहरू बढी हुने भएको हुँदा आन्तरिक उडान बढी प्रभावित भएको छ। विशेष गरी अझ बिहानको समयमा डिले भइरहेको छ। दिउँसो पनि मौसम नखुल्दा प्रभावित छ ’उनले भने,‘बिहान बिहान उडानहरू धेरै हुने तर मौसम खराब भयो भने धेरै प्रभावित हुन्छ। र अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ ’
अहिलेको समयमा, रुटमा आइरहेको केही विमानहरू मोडेर फेरि फिर्ता गइरहेको अवस्था रहेको पनि उनले सुनाए। केही दिन अझै पनि मौसममा फेरबदल नहुने, पानी नपर्ने अवस्थादेखि रहेका कारणले आँखा पोल्ने, स्वास्थ्य समस्या अझ पनि देखा पर्ने, रोगहरू लाग्न सक्ने सम्भावनाहरू बढ्ने देखिएको उनले जानकारी दिए। यस्तो मौसमले कृषि, स्वास्थ्य, हवाई, पर्यटन सबै क्षेत्रहरूमा यसले असर गरिरहेको छ भन्दै त्यसबाट बच्न र आवश्यक सावधानी अपनाउन उनको आग्रह छ।
‘अहिलेको समयमा, रुटमा आइरहेको केही प्लेनहरू मोडेर फेरि फिर्ता गइरहेको छ। सर्वसाधारणलाई मौसमविद्को तर्फबाट केही दिन अझै पनि मौसममा फेरबदल नहुने, पानी नपर्ने अवस्था देखि रहेको छ। त्यस कारणले प्रदूषण यथावत् नै रहने, आँखा पोल्ने, स्वास्थ्य समस्या अझ धेरै देखा पर्ने, रोगहरू लाग् नसक्ने सम्भावनाहरू बढ्ने देखिन्छ। हवाई सेवा पनि प्रभावित भइरहेको अवस्था छ। कृषि, स्वास्थ्य, हवाई, पर्यटन सबै क्षेत्रहरूमा यसले असर गरिरहेको छ। त्यसबाट बच्न र आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गर्न चाहन्छु।’
एकदमै पानी पर्ने र मौसम परिवर्तन हुने अवस्था आए मात्र यस्तो यो प्रदूषण हट्ने र वातावरण राम्रो हुने उनी बताउँछन्।
‘नेपालसँग वायु प्रदूषण हटाउने प्रविधि छैन, हटाउनका लागि कि एकदमै हावाहुरी लाग्नुपर्छ र पानी पर्नुपर्छ। पानी पर्ने, हावा लाग्ने अवस्था केही समयको लागि देखिएको छैन। त्यही भएर यो समस्या केही दिन रहने देखिन्छ,’उनले भने।
आइएफआर प्रविधि
आइएफआर प्रविधि विशेष गरेर मौसम खराब भएको बेला, बादल र हुस्सु लागेको बेला, हालको जस्तो प्रदूषण भएको बेला साथै रनवेहरु नदेखिने अवस्थामा यस्तो प्रविधिको प्रयोग हुने गरेको प्राविधिकहरूले बताउने गरेका छन्। उनले अटो पाइलट, अटो प्रविधिले कसरी ल्याण्ड गर्ने भनेर मिलाउने कुराहरू यसमा समेटिने जानकारी दिए।
‘मौसम बिग्रिएको समयमा सायद आइएफआर गर्दा ठिकै हुन्थ्यो। सबै कुराहरू मिल्यो भने त्यो सम्भव हुन्छ। नभए नेपालमा भिजिबल उडान मात्र हुन्छ। विशेष गरी मौसम सफा भएको अवस्थामा अथवा भिजिबिलिटी राम्रो भएको अवस्थामा प्लेन ल्याण्ड गर्ने काम हुन्छ,’मौसमविद् लामिछानेले भने।
चिकित्सकको नजरमा प्रदूषण
त्यस्तै इन्टरनल मेडिसिन फिजिसियन डा।रुपनारणयण शाहले चैत र वैशाखको सिजनमा बिस्तारै तापक्रम बढेर गर्मी बढ्न थाल्ने र सवारी साधनहरूको चाप पनि बढिरहेको हुँदा प्रदूषण पनि बढिरहेको बताए। प्रदूषणका कारण श्वासप्रश्वास छाला, आँखा सम्बन्धी रोगहरू देखा पर्ने उनको भनाई छ।
प्रदूषणले छातीमा समस्या हुने, एलर्जीको बढी समस्या हुने बिरामीहरूलाई अझै बढी समस्या हुने हुँदा बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने उनी बताउँछन्।
उनले भने,‘जाडोबाट गर्मी सुरु भएको छ। चैत र वैशाखको सिजनमा बिस्तारै तापक्रम बढ्ने, गर्मी बढ्न थालेको छ। यस्तो बेलामा दीर्घ रोगी, छातीमा समस्या हुनेहरूलाई धेरै कठिन हुन्छ। एलर्जीका बिरामीहरूलाई समस्या हुने गर्छ। त्यसैले बिरामीहरू घरबाट बाहिर निस्कँदा मास्क लगाउनुपर्छ।’
त्यस्तै गर्मीको समयमा बच्चा र बृद्धबृद्धाहरुमा बढी स्वास्थ्य समस्या देखिने पनि जानकारी दिए। बृद्धबृद्धाहरुमा बढी दमको समस्या छ भने भ्याक्सिन लगाउँदा केही राहत मिल्ने पनि बर्ता।
उनले भने,‘गर्मी बढ्न थालेपछि पानीको कमी हुन्छ। धेरै मान्छेलाई पसिना जाने हुन्छ त्यसको लागि झोल चिजहरू पिउनुपर्छ। ड्रिहाईडे«सन हुने, टाउको दुख्ने, तनाव हुने, सुख्खा अनुभव हुने, श्वासप्रश्वासको समस्या सुरु हुने हुन्छ। विद्यालय जाने बालबालिकाहरूको लागि विद्यालयमा आफ्नो आफ्नो मापदण्ड हुन्छ। विद्यालयमा डाक्टर, नर्स राख्ने चलन पनि छ। बृद्धबृद्धाहरुमा दमको समस्या छ भने भ्याक्सिन लगायो भने केही सहज हुन्छ। जलवायु प्रदूषण र परिवर्तनको क्षेत्रका सम्बन्धित सबै जना काम गरिरहेका छन्। काठमाडौँमा जनसङ्ख्या बढिरहँदा सवारी साधनहरू पनि बढिरहेका छन् त्यसले पनि प्रदूषण बढेको हो।’




















