झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरूको विभिन्न स्थानहरूबाट चैत्र प्रतिबन्धित लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
जसअन्तर्गत झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कबाट अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका–२ की १९ बर्सिया वर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो। लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट कमल गाउँपालिका–४ का ३८ वर्षीय संयोग बस्नेत र दमक नगरपालिका–८ का ३४ वर्षीय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो।
यसैगरी विशेष सूचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीको टोलीले धरान उप–महानगरपालिका–१४ की १८ बर्सिया आकृति परियारलाई निजकै घरको कोठाबाट लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन ११७ ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो भने सुनसरीको इनरुवा नगरपालिका–९ का ३६ वर्षीय जितेन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले नियन्त्रणमा लिएको हो।
यसका साथै लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले मोरङ केराबारी गाउँपालिका–६ का ३५ वर्षीय युवराज कटुवाललाई विराटनगर महानगरपालिका–१६ स्थितबाट ३ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।
यस्तै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी कोठुबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका–८ आराङ्गा स्थित भित्री सडक खण्डमा जेब्रा झोलामा बेवारिसे अवस्थामा राखिएको १५ किलो लागुऔषध गाँजा फेला पारी बरामद गरेको थियो।
सबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए।