नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको घट्नामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा चाहियो भन्ने युवाहरूलाई हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे।
उनले भने,‘शुक्रवारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ। तोडफोड हुँदा सबैलाई दुख्यो। तर निर्मल निवासलाई दुखेन नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन। राजा चाहियो भन्ने युवाहरूलाई म भन्न चाहन्छु–तीनकुने घट्नाले तपाईँको हृदयलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईँहरूले परिकल्पना गर्दै हुनुहुन्छ ?’
त्यस्तै उनले गणतन्त्रको विकल्प खोज्ने भन्दा पनि यसको प्रक्रियामा सुधार गर्नुपर्ने बताएका छन्। ‘प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीन वटा नेताको मात्र वरिपरि घुम्न थाल्यो, राजा ल्याइयो भने उहाँहरूबाट मुक्ति हुन्छ भन्ने असन्तुष्टि रहेको छ। बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला। तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने सम्भावना छ ?’ भन्दै प्रश्न गरे।
उनले भने,‘आज कसैले गणतन्त्रको विकल्प खोज्दै छ भने बिग्रिएको मोटर बनाउन जोडेर गोरु गाडातर्फ फर्कने काम कसैले नसोचुन्। युवाहरूलाई राजा ल्यायो भने देशको विकास हुन्छ भन्ने भ्रम छ। आजको युवा जमेको पोखरी जस्तो नेतृत्व चाहन्छ कि बगेको नदी जस्तो ? प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीन वटा नेताको वरिपरि घुम्न थाल्यो। राजा ल्याइयो भने उहाँहरूबाट मुक्ति हुन्छ। प्रश्न असन्तुष्टि छ। तर प्रक्रिया के त ? बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने छैन।’