प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले एक जना कर्मचारीको विषयमा प्रश्न उठ्दै आएकाले सदन अवरुद्ध गरी महत्त्वपूर्ण संसदीय कार्यमा बाधा पुग्न नहुने बताएका हुन्। 
उनले भने,‘केही दिनयता संसद् अवरुद्ध छ। सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक छ। सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो। तर अहिले विषय सामान्य छ, एक जना कर्मचारीको विषयमा प्रश्न उठेको छ। सदन अवरुद्ध छ, महत्त्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ। मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो, देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्न।’
साथै उनले अहिले यस विषय अदालतमा विचाराधीन रहेको बताए। यसमा थप चर्चा, परिचर्चा बहस गर्न आवश्यक नरहेको बताए।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्ष सांसदले जवाफ माग गरेका थिए।
विपक्षीका प्रश्नको सोमबाप्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रीप्रति लोयल्टी (इमानदारिता) नभएको कर्मचारी हट्नु सामान्य प्रक्रिया भएको दोहोर्‍याए।