राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले रोष्टमबाट राजालाई अपमानित र घोच्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन्।
उनले भने, ‘सम्मानिय प्रधानमन्त्रीज्युले बोल्दै गर्दा संसद्को नियमावली २०७९ को नियम २१ को यहाँ होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो। यो संसद्को रेकर्डबाट हटाइयोस्। एयरपोर्टमा स्वागत गरिएको स्वागतलाई उहाँले कथित भनेर भन्नुभयो, संसद्को नियमावलीका के नियम २६ को र अर्को नियम २१ को उपनियम ‘घ’ मा कसैलाई अपमानित गर्ने शब्द र कसैलाई घोच्ने शब्द प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोल्नु भएको छ यो रेकर्डबाट हटाइयोस्।’ साथै उनले प्रधानमन्त्री बोलिरहेको समयमा उभिएरै विरोध गरेका थिए।