नेकपा एमालेका सांसद महेश बर्तौलाले राजावादी हुँ भन्दैमा गणतन्त्रवादीहरूलाई वा संसद्लाई चेतावनी दिने छुट कसैलाई नभएको बताएका छन्। 
सोमबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले समाजमा अराजकता मच्चाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मच्चाउने, आगजनी गर्नेहरूलाई बल पुग्ने गरी गणतन्त्रको सांसदले कोही कसैलाई पनि अनुमति नदिएको भन्दै यस्तो विरुद्धमा उभिने बताए। 
उनले भने, ‘संसद्लाई संविधानको विरुद्धमा, सांसदले पारित गरेको नियमको विरुद्धमा जाने छुट छैन। समाजमा अराजकता मच्चाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मच्चाउने, आगजनी गर्नेहरूलाई बल पुग्नेगरि सांसदले कोही कसैलाई पनि अनुमति दिँदैन। त्यस प्रकारका क्रियाकलापहरू राजावादी हुँ भनेकै आधारमा गणतन्त्रवादीहरूलाई वा संसद्लाई चेतावनी दिने छुट कसैलाई छैन। यस्तो कतैबाट हुन्छ भने त्यस विरुद्धमा हामी उभिन्छौ।’
यसको साथै,  प्रधानमन्त्रीले बोल्दै गर्दा पनि बोल्ने क्रममा प्रतिपक्षको तर्फबाट अवरोध सिर्जना भएको भन्दै सभामुखको अनुमति लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमति संसद्को नियमावलीले कहाँबाट दियो भन्दै प्रश्न गरेका छन्। 
उनले भने, ‘यो हाउस सभामुखको अनुमतिमा चलिरहेको थियो। तर लगातार व्यवस्था, संविधान र सांसदले बनाएको नियमावलीको विरुद्धमा उभिएर विभिन्न प्रकारका गतिविधिहरू योभन्दा अगाडि पनि भइरहेका थिए। तर आजको बैठकमा प्रधानमन्त्रीले बोल्दै गर्दा पनि बोल्ने क्रमलाई अवरोध हुने गरी प्रतिपक्षको तर्फबाट केही सांसदहरूबाट अवरोध सिर्जना भयो। त्यो अवरोध थियो र संविधानको विरुद्धमा गरिएको क्रियाकलाप थियो। सभामुखको अनुमति लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमति यो संसद्को नियमावलीले कहाँबाट दियो।’