सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आइसकेपछि पनि राजतन्त्रको ऐन कानुनमा बाचिरहने देश भएको बताएका छन्। 
बुधवार काठमाडौँमा आयोजित दूरसञ्चार उद्योगलाई पुनजीवित गर्दै राजस्व, प्रविधि र दिगोपना कार्यक्रममा उनले देश विकास गर्ने हो भने काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानुन बदल्नुपर्ने बताए। 
उनले भने, ‘हाम्रो पुलिस, सेना, एपिएफ, अदालत, संसद्, मन्त्रालयहरू लगायत विभिन्न संस्थाहरू सबै छ तर यसको नीतिको हिसाबले भन्ने हो भने गणतन्त्र आइसक्यो राजतन्त्रको ऐन कानुनमा बाचिरहने देश हो। त्यस कारण हामीले के गर्नुपर्‍यो भने हाम्रो काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानुन बदल्नुपर्छ। हाम्रो विकास गर्ने हो भने त्यो काम गर्नुपर्छ।’
यसको साथै, उनले आजको प्रविधिको हिसाबमा अगाडि बढ्नु पर्ने भन्दै त्यसको लागि ऐन, नीति सबैको समीक्षा गरेर अगाडि बढ्नु पर्ने बताए। 
उनले भने, ‘हाम्रो क्षेत्रको नाफा घट्दै गइरहेको छ। हामी समयानुकूल चल्नुपर्छ। आजको प्रविधिमा जुन हिसाबको विकास भएको छ त्यो हिसाबले चल्नुपर्छ। त्यस कारण ऐन, नीति सबैको समीक्षा हुन्छ र त्यसपछि नियम, विनियममा पनि समीक्षा हुन्छ। र जुन जनशक्ति चलिरहेको थियो त्यसले अब काम हुँदैन।’
दूर सञ्चार ऐनलाई ड्राफ्ट गरेर संशोधनको लागि अन्तिम चरणमा पुगेको भन्दै अब केही समयमा सदनमा पेस हुने पनि उनले जानकारी दिएका छन्। 
उनले भने, ‘हाम्रो नीतिमा पुनविचार गर्नुपर्ने छ, त्यो पनि गर्दै छौ। हाम्रो कानुन जुन छ दूरसञ्चार ऐन त्यसलाई ड्राफ्ट गर्दैछौ। संशोधनको लागि अन्तिम चरणमा पुगेको छ। तपाईँहरूसँग छलफलमा बसेर यसलाई संसदमा पेस गर्नुपर्छ। अस्वाभाविक, अव्यवहारिक देखिएको कुराहरूलाई सुधार गर्नुपर्ने छ। त्यसैको आधारमा हाम्रो नीति र नियमावलीहरू बनाउनु पर्ने छ।’