जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा पाइने बहुमूल्य जडीबुटी पछिल्ला वर्षहरूमा घट्दै गएको छ।
कर्णालीका १० वटै जिल्लामा ५ हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइने भण्डार प्रदेश भए पनि मुगु लगायत हुम्ला, कालीकोट, जुम्ला, डोल्फा, जाजरकोट, रुकुम लगायतका जिल्लाहरूका अहिले पाइने जडीबुटीको सङ्ख्या घट्दै गएको हो।
बन पाखामा पाइने बहुमूल्य यार्सागुम्बा, टिमुर, सतुवा, पाखनबेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजो,घुच्चीच्याउ, सुगन्धवाल, सेतकचीनी धुपी, वन लसुन, राताच्याउ, कालादान, जिम्बु, अतिस, जटामसी, विषजरा लगायतका जडीबुटीहरू, जलवायु परिवर्तन, आगलागी, प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासी, अवैधरुपमा विकास निमार्णका संरचना निमार्ण गर्नु, फल नपाक्दै जडीबुटी टीप्नु, खुल्ला पशु वस्तु चरीचराउका कारण बहुमूल्य जडीबुटी दिन प्रतिदिन लोप हुँदै गएको हो।
जडीबुटीहरूको संरक्षणको लागि स्थानीय सरकार र डिभिजन वन कार्यालयले जडीबुटीको संरक्षणमा कुनै पनि पहल गरेको छैन। डिभिजन वन कार्यालय मुगुले वन पाखाहरूमा जडीबुटीको पछिल्लो उत्पादनको अवस्था कस्तो छ भन्ने  नबुझेर जडीबुटी सङ्कलनको लागि अनुमति मात्र दिने गरेको छ। 
परापूर्व कालदेखि वन क्षेत्रमा पाइने महत्त्वपूर्ण जडीबुटी संरक्षण नहुँदा लोप हुने अवस्थामा रहेको छ। 
विगतका वर्षहरूमा घर छेउछाउमा विभिन्न प्रकारका जडीबुटी पाइने गरेका थिए अहिले घर देखी १ दिन हिँडेर गए पछि मात्र जडीबुटी पाइने छाँयानाथ रारा नगरपालिका १४ बामका रत्न बढुवालले बताए।
नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका जडीबुटी पाइन्छन् भने मुगुबाट मात्र प्रत्येक वर्ष २४ देखि ३० प्रकारका जडीबुटीहरूको कारोबार हुने गरेको देखिन्छ। 
कार्यालयको ५ वर्षीय योजना अनुसार कुन जडीबुटी कति निकासा दिने भन्ने योजना अनुसार जडीबुटी सङ्कलनको लागि अनुमति दिने गरेको र जडीबुटी वन जङ्गल, वन्यजन्तु संरक्षण गर्नको लागि जिल्लामा रहेका सरोकारवालाहरूसँग सहकार्य भई नियमित काम भइरहेको डिभिजन वन कार्यालय मुगुका जीतेन्द्र महतले बताए।