पूर्वाञ्चल विश्वविद्यालयबाट ८ हजार बढी विद्यार्थी दीक्षित : मानव पुँजी निर्माणमा विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट ८ हजार १५० जना विद्यार्थी दीक्षित भएका छन्।
प्रधानमन्त्री एवं पियूका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मङ्गलवार भएको तेह्रौँ दीक्षान्त समारोहमा स्नातक तह, स्नातकोत्तर तह र एम.फिल तहका शैक्षिक कार्यक्रमहरूमा उपाधिका निमित्त प्रमाणपत्र प्राप्त गरेर ८ हजार १५० विद्यार्थी दीक्षित भएका हुन्। दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४९७, शिक्षाशास्त्रतर्फ ९०६, व्यवस्थापनका दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८ विज्ञान तथा प्रविधिमा ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी दीक्षित भएका हुन्। जसमा स्नातक तहमा ६ हजार ८८७ तथा स्नातकोत्तरमा १ हजार २६२ र एम. फिलमा १ हजार गरेर ८ हजार बढी विद्यार्थी दिक्षित भएका हुन्। जसमा १७ जना विद्यार्थीले गोल्डमेडल प्राप्त गरेका थिए।
वि.सं.२०७०र७१ मा यस विश्वविद्यालयका विभिन्न सङ्कायमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या करिब २० हजार ४७७ रहेकोमा वि.सं. २०७९र८० मा आइपुग्दा यो सङ्ख्या ४७ हजार ८१० पुगेको छ। यसका साथै वि.सं. २०७९र८० मा दिक्षार्थीको सङ्ख्या २० हजार ९५४ पुगेको छ। यस विश्वविद्यालयमा विद्यार्थी भर्नाको सङ्ख्या एक दशकको अवधिमा करिब दोब्बर भन्दा बढिले वृद्धि हुनुलाई सकारात्मक रूपमा लिन सकिने उल्लेख गरिएको छ। यस वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या ८ हजार १५० रहेकोले नेपालको मानव पुँजी निर्माणमा यस विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पियूले आफ्नो स्थापनाको करिब तीन दशकको अवधिमा नेपालको विकास र समृद्धिका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा उल्लेख्य योगदान पु(याउन सफल भएकोमा बधाई दिन चाहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, "विश्वविद्यालय ज्ञानको केन्द्र तथा गौरवको विषय हो। विद्यार्थीले किताबी ज्ञानसँगै व्यवहारिक सीप हासिल गर्न जरुरी छ। विदेश पलायन हुने नभई देश बनाउने अभियानमा लाग्न आवश्यक छ। पियू अध्ययन अनुसन्धानका लागि देशकै नमुना केन्द्र बन्न सक्ने नेपाल सरकारको अपेक्षा रहेको छ "।पियूको तेह्रौँ दीक्षान्त समारोहको अवसरमा यहाँ शैक्षिक भवनको प्रधानमन्त्री ओलीले उद्घाटन समेत गर्नुभयो। समारोहमा डा. गौरीशङ्कर लाल दासले दीक्षान्त अभिभाषण प्रस्तुत गर्नुभयो। प्रा.डा. बिजुकुमार थपलियाले मन्तव्य राख्नु भएको थियो।