आज (मङ्गलवार) सङ्घीय संसदमा सांसदहरूको स्वास्थ्य परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नसर्ने रोगहरूको देशव्यापी परीक्षण कार्यक्रम अन्तर्गत आज सांसदहरूको स्वास्थ्य परीक्षण गरिएको हो।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अब हरेक वर्ष फागुनको महिला स्क्रिनिङको महिना हुने बताए। उनले हरेक स्वास्थ्य चौकीमा स्क्रिनिङको व्यवस्था गरिएको भन्दै सार्वजानिक सूचना जारी गरेको बताए।
उनले भने, ‘फागुन महिना स्क्रिनिङको महिना भनेर घोषणा गरेका छौ। त्यो ग्रामीण भेगमा पुर्याउनको लागि नेपालको सबै स्वास्थ्य संस्थाहरूमा स्क्रिनिङ गराउनको लागि तोकेको मिति हो। अब हरेक फागुन महिना स्क्रिनिङको महिना हुनेछ।’
उनले बढी प्रचारप्रसार गर्न र विश्वसनीयता बढाउन संसदमा स्क्रिनिङ गरेको बताए। उनले संसदभित्र भएका सबै कर्मचारी, सांसद लगायतको परीक्षण गरिएको पनि बताए।
स्क्रिनिङमा मधुमेह जाँच, रक्तचाप, मिर्गौला सम्बन्धी रोगको जाँच, उचाइ र तौलको आधारमा बि.एम.आई मापन सेवा निःशुल्क प्राप्त गर्न सकिने छ।