सुनसरीको धरानमा हवाईफायर गरी ‘लागुऔषध कारोबारी’लाई नियन्त्रणमा लिइएको छ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले गए राति हवाईफायर गरी ‘कारोबारी’लाई नियन्त्रणमा लिएको हो। त्यस क्रममा २३० केजी गाँजा बरामद गरिएको इप्रका धरानले जनाएको छ।
राति करिब साढे १२ बजे धरान उपमहानगरपालिका–२०, चिमफुले खोलाबाट गाँजा बरामद गरिएको हो। लागुऔषध ओसारपोसार भइरहेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो।
प्रहरीका अनुसार, गाँजा बोकेर आएका केही भरियालाई रोकेर चेकजाँच गर्न खोजिएको थियो। त्यस क्रममा भारी छाडेर उनीहरू जंगलतर्फ भागेका थिए। नियन्त्रणमा लिन तीन राउन्ड हवाईफायर गरि एक जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी नगरपालिका–९ का ४३ वर्षीय हरिकुमार राई रहेको प्रहरीले जनाइएको छ।