राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झा ले सरकारले कुलमानलाई लखेट्न लागेको भन्दै विरोध जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साधेको बताएका हुन्। उनले भने, ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनीलाई फाइदामा पुर्याउनेहरुलाई मूल्याङ्कन जिरोमा गरिरहेको छ, विभिन्न बहनामा आफ्ना कार्यकर्ता भर्ती गर्न पाएन भनेर निष्कासन गरिरहेको छ। विभिन्न परिपञ्चहरु सिर्जना गरिरहेको छ, त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौँ भने हजारौँ कुलमान ल्याउने छौँ।’
उनले उदयपुर सिमेन्ट कम्पनीबाट आजभन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आजसम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाएका छन्।
श्रम ऐन २०७४ को दफा १४८ को उपदफा १ मा कसैले अवकाश प्राप्त गरेको वा रोजगारी अन्त्य भएको १५ दिनभित्र पारिश्रमिक, सुविधालगायतको भुक्तानी गरिसक्नुपर्ने प्रावधान रहेको भएपनि सरकारले ती वर्षसम्म पाउनुपर्ने सेवा सुविधा बापतको रकम नदिएको बताए।
उदयपुर सिमेन्ट कम्पनीबाट अवकाश पाएका १०३ जनामध्ये केहीको पैसाको अभावमा उपचार गर्न नसकेर मृत्यु भइसहेको र केही अझै अस्पतालमा रहेको बताए। उनीहरूले पाउनुपर्ने सेवा सुविधा तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन सांसद झाले सरकारको ध्यानाकर्षण गराए।