तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज सुखानीमा भावपूर्ण श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं. २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी हत्या गरेका थिए।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले आज बिहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरुको शालिकमा माल्यार्पण गरेका हुन्।
सुखानीका सहिदहरुको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरुले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रुपमा मनाउँदै आएका छन्।