नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरूलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधित्व गर्ने ढोका खोल्ने बताएका छन्।
प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौँमा आयोजित अन्तरक्रियामा उनले विदेश पलायन भएका खेलाडीहरूलाई आफ्नो देशलाई प्रतिनिधित्व गर्नको लागि ढोका खोल्ने बताए। 
उनले भने, ‘खेलाडीहरू जो नेपाल छोडेर बाहिर गएका छन्। उनीहरूको आफ्नो कारण वा बाध्यताले विदेशिएका छन्। उनीहरूका लागि ढोका खोल्न चाहन्छु। आफ्नो देशलाई प्रतिनिधित्व गर्नको बाटो खोल्ने प्रयासमा हुनेछु। 
यसका साथै, उनले खेलाडीहरूमा रहेको जोसलाई एकै ठाउँमा ल्याएर मैदानमा उतार्ने भन्दै यसपालिको साफ च्याम्पियनसिप जित्ने प्रयासमा लाग्ने बताए। 
उनले भने, ‘मेरो काम भनेको खेलाडीहरूमा रहेको जोसलाई एकै ठाउँमा ल्याएर मैदानमा उतार्नु हो। यसपालिको साफ च्याम्पियनसिप जित्न चाहन्छु। म टिमलाई एसियन कपको नजिकभन्दा नजिक लगेर एसियन कपमा छनोट हुने प्रयासमा लाग्ने छु। चुनौतीपूर्ण नै भएपनि कोच भएपछि चुनौतीहरू मनपर्ने नै हुन्छ।’
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त हुन पाउँदा एकदमै खुसी लागेको भन्दै नेपाल एकदमै विशेष देश भएको उनको भनाई छ।  
उनले भने, ‘नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त हुन पाउनु एकदमै सम्मानको कुरा हो। या एकदमै विशेष देशमा विशेष भूमिका हो। नेपाल एउटा एकदमै राम्रो देश हो यहाँको मानिस यहाँको खाना, सम्मान सबै एकदमै राम्रो छ तपाईँहरू सबै नेपालमा नै भएको हुनाले सायद तपाईँहरूसँग के छ भन्ने कुरा थाहा नभएको होला तर मैले धेरै देशहरूमा काम गरेको हुनाले नेपालमा भएको जोस अविस्मरणीय छ।’
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले म्याट रसलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो। एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। एसियन कप छनोट सुरु हुनु खेल झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो।