इटहरी। सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेपछि अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। आज बिहान सप्तकोसी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो। 
बाघले केही व्यक्तिलाई आक्रमण गरेको र नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्। 
उनका अनुसार बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुरको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै नेपाली सेनाको टोली परिचालित भएको छ। 
कोशीटप्पु वन्यजन्तु आरक्षबाट गएको टोली भने फर्किएको छ। टोलीमाथि नै स्थानीयले आक्रमणको प्रयास गरेकाले त्यहाँबाट फिर्ता भएको कार्यालयका सूचना अधिकारी मिथिलेस महतोले जानकारी दिए।
‘हाम्रो क्षेत्रभित्र परेको अवस्था थिए तर, नियन्त्रणका लागि टोली गएपनि त्यहाँबाट सहयोग प्राप्त भएन। मान्छे होहल्ला गर्ने र टोलीमाथि नै आक्रमण गर्ने अवस्था आएपछि टोली फर्किएको छ।’ उनले भने।
नजिकै रहेको बन क्षेत्रबाट पसेको बाघले आक्रमण गर्दा तीन जना घाइते समेत भएका छन्। घाइते हुनेमा स्थानीय रिजन गोसाईं, गणेश खत्री, कृष्ण विष्ट घाइते भएका हुन्। घाइतेमध्ये कृष्ण विष्टलाई उपचारको लागि इटहरी ल्याइएको छ भने दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको प्रजिअ दाहालले बताए।