नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले नेपालका वनजंगलहरु स्रोतले अगाडि भए पनि काठ आयात विदेशबाट हुने बताएका छन्।
मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन विषयक नीति संवाद कार्यक्रममा बोल्दै उनले विज्ञानमा आधारित वन व्यवस्थापन हुन आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘मुख्य गरी वन व्यवस्थापन गर्न प्राधिकरण आजको आवश्यकता हो। नेपालमा ४६ प्रतिशत वन क्षेत्र भएर पनि विदेशबाट काठ आयात हुने अवस्था छ। हाम्रो श्रम शक्तिहरू बाहिर रोजगारीमा गइरहेका छन्। त्यसैले पनि विज्ञानमा आधारित वन व्यवस्थापन हुन आवश्यक छ।’
साथै उनले वनका कामहरू गर्नको लागि प्राविधिकहरूको कमी रहेको बताए। उनले वन व्यवस्थापनका लागि थुप्रै किसिमका प्राविधिकहरू आवश्यक हुने बताए।




















