परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन्।
बिहीबार त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले इरानका परराष्ट्र मन्त्रीले विपिन जोशीको बारेमा गम्भीर भएर लागेको जानकारी गराएको बताइन्।
उनले भनिन्, ‘मैले इरानको परराष्ट्र मन्त्रीसँग पनि कुरा गरेँ। त्यो कुरा विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो। उहाँले पनि म प्रयास गर्छु तर अझै पनि तपाईँहरूको र थाईको एक जनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन। केही सूचनाहरू मागेका छौ र गम्भीर भएर लागेका छौ भन्नु भएको छ। यही कुरा कतारको प्रतिनिधिहरूले पनि गर्नु भएको थियो।’
यसको साथै, उनले ओमानसँग कागजको विक्रीलाई व्यवसायिक गर्ने र पर्यटकको क्षेत्रलाई सुधार गर्ने बारेमा दुई वटा एमओयुहरु साइन भएको पनि बताइन्।
उनले भनिन्, ‘हामीले ओमानसँग दुई वटा एमओयुहरु पनि साइन गरेका छौ। एउटा हाम्रो कागजहरूलाई कसरी विक्री र व्यवसायिक गर्ने भन्ने कुरामा आउने दिनमा काम हुन्छ होला र अर्को पर्यटकको क्षेत्रमा पनि एमओयू गरेका छौ। पर्यटकको क्षेत्रमा नेपालसँग एकदमै नजिक भएर काम गर्न मन भएको कुरा पनि राख्नु भएको छ।’
यसको साथै डाक्टर, इन्जिनियरहरू जस्तो मानिस पनि बाहिर गएर श्रमिकको रूपमा काम गर्नुपर्ने अवस्था पनि थाहा भएको छ। यसबारे पनि श्रम मन्त्रालयसँग बसेर कुरा गर्ने उनको भनाई छ।
यस्तै, उनले घरेलु कामदारको रूपमा महिलाहरू जाने विषयलाई पुन विचार गरेर एउटा टिम बनाएर फिल्ड रिसर्च गरेर नै काम गर्ने पनि बताइन्।
परराष्ट्रमन्त्री ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान भ्रमणका लागि गएकी थिइन्।