ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) को लागि ३५ प्रकारका अत्यावश्यक औषधीहरू निःशुल्क उपलब्ध गराउने जनाएको छ। 
बिहीबार पत्रकार सम्मेलन गर्दै ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय उपचार मापदण्ड अनुसार औषधीको छनोटदेखि वितरणसम्म सम्पूर्ण प्रक्रियामा आवश्यक सहयोग प्रदान गर्ने लक्ष्य रहेको जनाएको हो।
विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड्स चिल्ड्रेन्स रिसर्च हस्पिटलको संयुक्त पहलमा सन् २०२१ मा सुरुवात गरिएको ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स आफैमा नयाँ किसिमको कार्यक्रम हो। 
यस ग्लोबल प्लेटफर्ममा युनिसेफ खरिद साझेदारको रूपमा रहेको छ, जसले औषधीको खरिद तथा नेपालसम्म ढुवानीको जिम्मेवारी निर्वाह गर्नेछ। नेपालमा औपचारिक यो पहल रूपमा सुरु गर्न २०८० चैत्र १४ गते नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। 
‘नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ। सेवामा सीमित पहुँच र श्रोत अभावका कारण तीमध्ये करिब एक तिहाइले मात्र उपचार प्राप्त गर्छन्। नेपालमा क्यान्सर पीडित बालबालिकाको बाँच्ने सम्भावना दर केवल ३० प्रतिशत छ। यो दर उच्च आय भएका देशहरूको तुलनामा निकै कम हो। जहाँ यो दर ८० प्रतिशत भन्दा बढी छ। बाँच्ने सम्भावना दर कम हुनुको प्रमुख कारणहरू मध्ये क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीको अभाव पनि एक हो। 
नेपाल ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिनको यस नयाँ कार्यक्रममा सहभागी हुन छनोट भएका विश्वभरका ६ देशमध्ये एक र विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रमध्ये एक मात्र राष्ट्र हो। 
बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय उपचार मापदण्ड अनुसार औषधीको छनोटदेखि वितरणसम्म सम्पूर्ण प्रक्रियामा आवश्यक सहयोग प्रदान गर्ने ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सको लक्ष्य रहेको जनाएको छ।
यसको लक्ष्य सन् २०३० सम्म क्यान्सर पीडित बालबालिकाको बाँच्ने सम्भावना दर कम्तीमा ६० प्रतिशत पुर्‍याउनु हो। यी औषधीहरू स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामार्फत चार अस्पतालहरू’कान्ति बाल अस्पताल काठमाडौँ, पाटन अस्पताल ललितपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, तथा बी पी कोइराला क्यान्सर अस्पताल, चितवन’मा वितरण गरिनेछ।
यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राप्त भएका औषधीहरूले बालबालिकाहरूको उपचारमा धेरै ठुलो सहयोग पुग्ने बताए।
उनले क्यान्सर निर्मूल गर्ने सम्बन्धमा एचपिभि भ्याक्सिन उपलब्ध गराएर अभियान नै सञ्चालन गरिसकेकोले ९० प्रतिशत भन्दा बढी १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाले त्यो भ्याक्सिन प्राप्त गरेको  बताए।