सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार अन्तिम क्वाटरफाइनलको खेल हुँदैछ। बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा हुने खेलमा मछिन्द्र क्लब र सर्लाहीको बागमती युवा क्लब भिड्नेछन्।
दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ। आयोजकलाई हराउँदै बागमती युवाक्वाटरफाइनलमा प्रवेश गरेको हो भने मछिन्द्र भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो। मछिन्द्र गत संस्करणको विजेता टोली हो। गत संस्करणमा एपीएफलाई हराउँदै मछिन्द्रले उपाधि हात पारेको थियो।
आगामी फाल्गुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।