जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले वैकल्पिक ऊर्जालाई अब सेवाको रूपमा मात्र नभई व्यवसायिक हिसाबले पनि अगाडि बढाउन आवश्यक रहेको बताएका छन्। 
बिहीबार काठमाडौँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले समयसापेक्षित रूपमा आफ्ना गतिविधिहरू र सेवाहरू प्रदान गर्दै अगाडि बढ्नुपर्ने पनि बताए। 
उनले भने,‘ हिजो हामीले सेवाको रूपमा लिएको यस वैकल्पिक ऊर्जालाई अब बिस्तारै व्यवसायिक हिसाबले पनि अगाडि बढाउनु पर्ने आवश्यकता सरकारले,मन्त्रालयले महशुस गरेको छ। अब समय परिवर्तन भएको छ। समयसापेक्षित आफ्ना गतिविधिहरू, सेवाहरू प्रदान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ।’ 
त्यस्तै, उनले सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरूमार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको पनि जानकारी गराए। 
उनले भने,‘नेपाल सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरूमार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको छ। हालै स्वीकृत भएको ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना २०८१ मा नेपालले अघि सारेका स्वच्छ ऊर्जा र जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय ऊर्जा दक्ष र स्वच्छ ऊर्जा रूपान्तरणलाई उच्च प्राथमिकता दिइएको छ।’