भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आवश्यक्ताहरु असीमित भएकाले कार्य गर्ने पद्धतिमा तालमेलको अभाव रहेको बताएका छन्।
आइतबार नापी कार्यालय चाबहिलको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले काम गर्ने सिस्टममा तालमेल नमिल्दा चाहेजस्तो कामहरू हुन नसकेको बताएका हुन्।
उनले भने, ‘हामीलाई असीमित आवश्यक्ताहरुको जरुरत छ। आवश्यक्ताहरु एक थरी छन्। हामीले गर्ने कार्यशैली, कार्य पद्धति, सिस्टम अलि भिन्न छ। तालमेलको अभाव छ। जसले कामहरूमा चाहे अनुसारको हुन सकिरहेको छैन। छिटो छरितो काम नभएको जस्ता कुरीतिहरू देखा परेका छन्। सबै कुरा मिलाउने र समाधान गर्ने अरू बाहिरको कोही आएर गर्दैन तपाईँ हामीले नै गर्नुपर्ने हो।’
साथै उनले व्यक्तिगत स्वार्थका कारण कसैले काम गर्न नहुने बताए। उनले नापी कार्यालयका कर्मचारीहरूलाई जनताको हित विपरीत र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे।
उनले भने, ‘काम हुँदै हुँदैन भन्ने गुनासो धेरै सुन्नमा आएको छ। कर्मचारीहरूलाई मेरो के आग्रह छ भने नियम र विधिबाहेक कसैलाई दबाब दिने काम नगर्नुहोला। जनताको हित विपरीत र जनतालाई अप्ठ्यारो पार्ने गरी काम नगर्न म आग्रह समेत गर्दछु।’




















