दक्षिण कोरियाको विमानस्थलमा यात्रु विमानमा आगलागी भएको छ। जहाजमा रहेका १७६ जना सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
मंगलबार राति दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।
विमानका १६९ यात्रु, छ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको जनाएको छ। अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मीहरू परिचालन गरेको एक घण्टापछि आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन। यातायात मन्त्रालयले उक्त विमान ए३२१ मोडेलको रहेको बताएको छ।