एक हप्तादेखि तराई मधेस क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ। 
त्यसमा पनि हुस्सुले झन् बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको हो। बाक्लो हुस्सुले गर्दा १०/१५ मिटर भन्दा टाढा केही देखिँदैन। सडक, बजार सुनसान बनेको छ।
हुस्सुले सबैभन्दा बढी समस्या विमानस्थलमा यात्रुहरूले खेप्नु परेको छ। जनकपुरधाम विमानस्थलमा भिजिबिलिटी कम हुनाले न त विमान अवतरण नै गर्न सकेको छ न त उड्न नै। दैनिक ८ वटासम्म हुने उडान, एक हप्ता देखिको बाक्लो हुस्सुले ४ वटामा झरेको छ। त्यसमा पनि कति बजे उडान हुन्छ भन्ने निश्चित नै हुँदैन। विमान उड्ने आशामा बिहान देखि नै यात्रुहरू घण्टौँ कुर्न बाध्य भएका छन्। चार देखि ६ घण्टासम्म कुर्नु परेको महोत्तरीको बर्दिबासबाट काठमान्डौ जान बिमानस्थमा पर्खिरहेका हरि प्रसाद बक्तेल बताए।  
विमान उड्न १ हजार मिटर भिजिबिलिटी र अवतरणका लागि १ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ। तर एक हप्तादेखिको बाक्लो हुस्सुले बिहानको समयमा भिजिबिलिटी ५ सय मिटर पनि नहुने गरेको बताउँछन् जनकपुर विमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले जानकारी दिएका छन्। दिउँसो २ बजे पछि मात्र भिजिबिलिटी सुधार हुने गरेकोले त्यस बखत उडान हुने गरेको उनले जानकारी दिए। अहिले दैनिक ४० प्रतिशत उडान कम भएको उनले बताए। 
अबको दुई/तीन दिन पछि मौसम सुधार हुने सूचना अधिकारी यादवले जनाए। हुनु त कम भिजिबिलिटीमा पनि विमान उड्न र अवतरण गर्न सक्छ तर त्यसका लागि आधुनिक उपकरण जडान गर्नुपर्ने हुन्छ। 
यस किसिमको आधुनिक प्रविधि जडान गर्न खर्च बढी लाग्ने र त्यसको वसुलउपर गर्न टिकट दरसमेत बढ्न जान्छ। हाल यस किसिमको प्रविधि भैरहवा विमानस्थलमामा रहेको देखिन्छ।