स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्।
स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए। सो समितिले तयार पारेको कार्य योजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेलले मङ्गलवार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएका हुन्।
कार्य योजनाका आधारमा मन्त्रीपरिषद् बैठकमार्फत स्वास्थ्य बिमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
मन्त्री पौडेलले स्वास्थ्य बिमामा सुधार गर्दै ५ लाख पुर्याउने गरी तयारी गरिरहेको बताएका थिए। प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ।
मन्त्रिपरिषदबाट निर्णय भएमा संसद्को अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले तयारी गरेका छन्।