प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
सहिद दिवसका अवसरमा आज उहाँले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सालिकमा पुष्पहार अर्पण गरेका हुन्।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ। वि.सं.२००७ पछि हरेक वर्षे माघ १६ गते विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने गरिएको छ।
सो क्रममा उपप्रधानमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख, काठमाडौँ महानगरपालिकाका उपप्रमुखलगायतले सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरे। प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिंहदरबार परिसरमा अहिले सहिद दिवस विशेष समारोह आयोजना भइरहेको छ।