हेटौँडा उपमहानगरपालिका १२ का वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले राष्ट्रिय खेल भलिबललाई संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन्। 
बिहीबार भएको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै वडाध्यक्ष तिवारीले भलिबलको संरक्षण आवश्यक रहेको भन्दै यसको लागि काम गर्ने बताए। 
खेलकुद र खेलाडीको सम्मान हेटौँडा–१२ को पहिचान भन्ने नारालाई आत्मसात् गर्दै भलिबलको संरक्षण र खेलाडी उत्पादनको लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज लामा स्याङ्तानले बताए। 
हेटौँडा १२ नम्बर वडाका खेलकुद विकास समिति संयोजक दिनेश चौलागाईंले भलिबल भूगोल सुहाउँदो खेल भएकोले तीन तहको सरकारले यसलाई प्राथमिकता दिनुपर्ने बताए।  
उनले भने, ‘भलिबल राष्ट्रिय खेल हो। यस खेललाई सानो ठाउँ भए पुग्छ र जोखिम कम हुने भएकोले सजिलै खेलाडी उत्पादन गर्न सकिने हुन्छ। हाम्रो भूगोल सुहाउँदो खेल भएकोले तीन तहको सरकारले अरू  खेललाई जस्तै यसलाई पनि बजेटको व्यवस्था गरेर प्रवर्द्धनमा लाग्न सके असल हुने थियो।’ 
यही माघ १६ गतेदेखि १९ गतेसम्म सम्म हेटौँडा १२ हात्तीगौडा स्थित बुद्ध माविको चौरमा हुने भलिबल प्रतियोगितामा हेटौँडाका १९ वटै वडाबाट खेलाडीहरूले भाग लिन सक्ने जनाइएको छ।
खेलमा प्रथम हुने टिमलाई ५० हजार, दोस्रोलाई ३० हजार, मेडल र ट्रफीद्वारा पुरस्कृत गरिने छ भने उत्कृष्ट विधाहरूलाई नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। 
आयोजक वडाको तर्फबाट १ लाख २५ हजार रुपैयाँ, प्रथम पुरस्कारको मुख्य प्रायोजक तुलसी मेहर मेमोरियल आवासीय मावि÷नारायणी कलेजले व्यहोर्ने जनाइएको छ भने अपुग रकम आयोजक टिमले आ–आफ्नै तर्फबाट फन्डरेज गरेर प्रतियोगिता गर्ने र प्रतियोगिता सम्पन्न गर्ने भनिएको छ। 
प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। पत्रकार भेटघाट कार्यक्रममा वडा सदस्य महेश भट्टराई, वडा सचिव रामलाल थिङ्ग लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।