सभापति कप फुटबल प्रतियोगितामा आज एउटा मात्रै खेल हुने भएको छ। राजधानीको दशरथ रङ्गशालामा आज हुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमने सामने हुने छन्।
प्रतियोगिताको खेल साँझ साढे ५ बजे सुरु हुने छ। यसअघि दिउँसो ३ बजे सञ्चालन गर्ने भनिएको प्रतियोगिताको तालिका शुक्रवार (आज) देखि परिमार्जन गर्दै फलर्ड लाइटमा सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएको छ।
सभापति कप फुटबल प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। नकआउट आधारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जीत निकाल्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ। 
बिहीबार भएको उद्घाटन खेलमा सङ्कटाले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ३–० को प्रभावशाली जीत दर्ता गरेको थियो। आज शुक्रवार मच्छिन्द्र र एपीएफको विजेताले फाइनल प्रवेशका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ। उपाधि विजेताले नगद २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख पाउने छ।