युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङ समुदायले विशेष कार्यक्रमका साथ सोनाम ल्होसार (नयाँ वर्ष) मनाउने भएका छन्।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले मञ्जुश्री संवत् २८६१ को अवसर पारेर यही फेब्रुअरी २ तारिखका दिन राजधानी लिस्बनस्थित अल्भलादेमा विशेष कार्यक्रमका साथ सोनाम ल्होसार मनाउने भएको हो।
‘राष्ट्रिय पर्व सोनाम ल्होसार राष्ट्रको शान, भाषा, धर्म संस्कृति हाम्रो पहिचान’भन्ने नाराका साथ बृहत् तामाङ सांस्कृतिक कार्यक्रम तथा साङ्गीतिक साँझको आयोजना गरेर पोर्चुगलमा सोनाम ल्होसार मनाउन लागिएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले जानकारी दिए।
तामाङ जातिको कला, भाषा, धर्म र संस्कृतिको प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यका साथ पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत स्वरुप ल्होसार मनाउन लागिएको तामाङले बताए। तामाङ अक्षयकोषको स्थापना गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा तामाङ समुदायको संस्कृति झल्कने विशेष सांस्कृतिक झलक प्रस्तुत गरिने घेदुङले जनाएको छ। सो अवसरमा लामा गुरुबाट विशेष पूजापाठ समेत गरिने बताइएको छ। 
कार्यक्रममा चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका रमिला पाख्रिन, सेलो गायक प्रदीप लामा र गायक कुमार योञ्जनको विशेष प्रस्तुति रहनेछ। भने अन्य राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहने बताइएको छ। कार्यक्रममा सहभागी हुन पोर्चुगलमा क्रियाशील नेपाली सङ्घसंस्था, समाजसेवी, व्यवसायी तथा पोर्चुगलवासी नेपाली समुदायलाई घेदुङले विशेष आग्रह समेत गरेको छ।