कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताएका छन्।
भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरूलाई भवन संहिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमको आइतबार वीरेन्द्रनगरमा उद्घाटन गर्दे मुख्यमन्त्री कडेलले अहिले भइरहेको जथाभाबी विकासको मोडल बदल्न नसकिए विपत्तिको चपेटा मुक्त हुन नसकिएको बताएका हुन्।
मुख्यमन्त्री कडेलले जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गर्दे त्यसलाई रोक्न प्राविधिकहरू नै अघि धारणा सर्नुपर्ने बताए। उनले भने, ‘प्राविधिकलाई पन्छाएर डोजर चढेर हिडनेहरुले सडक मूल्याङ्कन गरिरहेको म देख्छु,यसबाट हामी बच्न सक्नुपर्छ।’
विकासको आवश्यकता भन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको मोडलले धेरै गाउँ बस्ती जोखिममा परेको चर्चा गर्दे मुख्यमन्त्री कडेलले जनप्रतिनिधिले जहाँ जहाँ भन्छन् त्यही जमिन भत्काउने कामलाई निरुत्साहन गर्न पनि प्राविधिकलाई सुझाव दिए।
मुख्यमन्त्री कडेलले भने,‘विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो, ‘विकासको मोडललाई दीर्घकालीन र जोखिमरहित बनाउन तपाईँहरूकै भूमिका रहन्छ।’
सबै तहका सरकारसँग चाहिए जति रकम नभए पनि भइरहेको रकमको पनि उचित सदुपयोग नभएको मुख्यमन्त्री कडेललको भनाई थियो। मुख्यमन्त्री कडेलले भने, ‘हामीसँग चाहिएको जति पैसा त छैन तर भइरहेको बजेटबाट पनि प्राथमिकता र आवश्यकतामाथि धेरै ध्यान पुगेको देखिन्न।’
मुख्यमन्त्री कडेलले कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेकोले यहाँ बन्ने संरचनाहरू अरू भन्दा जोखिमरहित हुनुपर्नेमा ध्यान दिन पनि प्राविधिकहरूलाई सुझाव दिए।
नगर विकास कोषले आयोजना गरेको उक्त कार्यक्रममा गत कार्तिक २२ गते जाजरकोटको केन्द्र विन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि दुई जिल्लाका ३० जना इन्जिनियरहरू सहभागी रहेको कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डितले जानकारी दिए।