लिखु खोलामा सञ्चालित जलविद्युत आयोजनाले जथाभावी रूपमा नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गरी वातावरणलाई प्रभाव पारेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खालामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ।
सो गाउँ कार्यपालिकाको पुस १५ गते बसेको बैठकले उमाकुण्ड गाउँपालिका अन्तर्गत लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणको लागी प्रतिवेदन तयार नहुँदासम्म उत्खननको काममा रोक लगाउने निर्णय गरेको छ। त्यसको लागि तत्काल प्रक्रिया अगाडी बढाइ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण कार्य गरिने भएकोले सो कार्य पुरा नभए सम्मको लागि लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ।
सो सूचनाको उल्लङ्घन गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण गरेको पाइएमा बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना हुने कार्यालयले जनाएको छ।
लिखु नदीमा दुगड ग्रुपले सञ्चालन गरेको विभिन्न जलविद्युत आयोजनाले सो क्षेत्रमा प्राकृतिक श्रोतको कानुन विपरीत दोहन गरेको छ। नदीको पानी सुकाएर ड्याममा पानी फर्काउँदा लिखुका जलचर नष्ट भएका छन् भने गौरीशङ्कर आरक्षण क्षेत्रका जङ्गली जनावर पानी पिउनबाट समेत वञ्चित भएका छन्।




















