आगामी माघ २३ गतेदेखि काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने इ–प्लानेट नेशनल हाई स्कुल च्याम्पिनसीपका लागि कोशी प्रदेशबाट आस्था कलेज छनोट भएको छ।
इटहरीस्थित जनता क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा आस्था कलेजले सुष्मा गोदावरीलाई ७ विकेटले पराजित गरेको हो। फाइनलमा सुष्मा गोदावरीले दिएको ६३ रनको लक्ष्य आस्थाले ५.४ ओभरमा ३ विकेट मात्र गुमाएर भेटायो।
लक्ष्य पछ्याउने क्रममा आस्थाको लागि भुपाल दंगालले मात्र १२ बलमा ३२ रन बनाए भने सौजन घिमिरेले ११ बलमा १४ रन बनाए। गोदावरीका नाजिर आलमले २ विकेट लिए।
टस जितेर ब्याटिङ गरेको सुष्मा गोदावरीले निर्धारित १० ओभरमा ६२ रन बनाउँदा सबै विकेट गुमायो। उसको लागि नजिर आलमले २० तथा अन्जुल मेहताले १६ रन बनाए। आस्थाको बलिङमा प्लेयर अफ द फाइनल घोषित सौजन घिमिरेले ३ विकेट लिए। छनोटको उपाधि सहित आस्थाले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
कोशी प्रदेश छनोट प्रतियोगितामा कुल छ टिम सहभागी थिए। सुष्मा गोदावरी, कस्तुरी कलेज, आस्था कलेज, इटहरी नमुना, नवादिप एकेडेमी, मेरिल्यान्ड कलेज सहभागी थिए।
यस अघि सम्पन्न बागमती प्रदेश छनोटबाट अर्किड कलेजले काठमाडौँ यात्रा तय गरिसकेको छ। प्रतियोगिताको आगामी छनोट प्रतियोगिता मधेस प्रदेशमा पुस १८ गते जनकपुरमा सुरु हुनेछ। त्यसपछि लुम्बिनी छनोट बुटवलमा पुस २३ गतेबाट, गण्डकी छनोट पोखरामा पुस २६ गतेबाट, दोस्रो बागमती प्रदेश छनोट काठमाडौँमा माघ ३ गतेबाट, कर्णाली छनोट सुर्खेतमा माघ १० गतेबाट, सुदूरपश्चिम छनोट धनगढीमा माघ १७ गतेबाट हुनेछ। माघ २३ देखि २६ गते राष्ट्रिय फाइनल काठमाडौँमा आयोजना हुने तालिका छ।




















