नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न जो कोहीलाई पनि पाता कसेर कानुनी कठघरमा उभ्याउनुपर्ने बताएका छन्। 
४९ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले गरेको कार्यक्रममा बोल्दै थापाले कानुन सबैलाई बराबर हुने भन्दै कांग्रेसको ठुलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका हुन्।
कानुनले उच्चपदस्थ र आम नागरिकलाई समान व्यवहार गर्नुपर्ने भन्दै सहकारी ठगीमा जो कोही, जति शक्तिशालीहरू देखा परे पनि कानुनले समान व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरे।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले भनिरहेको सुनाउँदै थापाले भने,‘यदि कांग्रेसको नेता, पदाधिकारी, कही कतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानु।’
कुनै सन्दर्भमा आफूले गल्तिगरेको प्रमाणित भए आफूलाई पनि पाता कसेर लैजानु तर मलाई भेट्न आउँदा कांग्रेसको झण्डा बोकेर नआउनु भन्दै थापाले भने थापाले भने, ‘सहकारीको पैसा लगेर महिना आठ–दश लाख रुपैयाँ तलब खाएर लुटपाट ग¥यो भने प्रहरीले के गर्छ ? हाम्रो बोलीचालीको भाषामा पाता फर्काएर लिएर जान्छ। त्यही होइन कानुनको शासन भनेको ?’ थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए।
उनले भने,‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठुलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ। पुराना कुरामा अड्किएर बस्ने होइन। नेपाली समाज उकुसमुकुस छ। त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ।’