नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले राजविराजको रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको बताएका छन्।राजविराजको रात्रिकालिन उडानको सुरुवात गर्ने कार्यक्रममा उनले हवाई यातायातको महत्त्व धेरै नै भएको भन्दै यो रात्रिकालिन उडानले यसलाई अझ सहज बनाएको बताए।
उनले भने, ‘हवाई यातायातको महत्त्व दुर्गम क्षेत्रमा, बाढी पहिरो गएको स्थानमा र समस्या परेको बेला धेरै हुन्छ। राजविराजको रात्रिकालिन उडानले सम्भावनाको ढोका खोलेको छ। बिहान कोही मान्छे राजविराजबाट उडेर काठमाडौँ गएर काम सकाएर फर्किन सक्ने अवस्था बनेको छ। यसको लागि म सबैलाई धन्यवाद दिन चाहन्छु।’
यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि रात्रिकालिन उडानलाई अझ बढाउने बारेमा सोच्नु पर्ने भन्दै यसले पर्यटन बढाउन पनि सहयोग हुने बताए।
उनले भने, ‘यसलाई अझ अगाडि कसरी लाने, योभन्दा बढाउन के गर्ने भन्ने कुरामा सबैले सोच्नु पर्छ। त्यसको लागि मैले प्रस्ताव पनि गरेको थियो। यसले पर्यटन बढाउन सहज हुन्छ, यसले आर्थिक विकास पनि गर्न सकिन्छ।’
यसको साथै, उनले सांसदको शपथ लिँदा देखेको सपना साकार भएको भन्दै आजको दिनसम्म आउनको लागि सङ्घर्ष गरेका सबैलाई धन्यवाद दिएका छन्।
उनले भने, ‘आजको दिनसम्म आउनको लागि सङ्घर्ष गर्नु भएको पार्टीका नेताहरु, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चाहन्छु। म सांसद भएको शपथ लिएकै दिन तेस्रो नम्बरको पत्र यही विषयमा थियो कि यहाँबाट दुई वटा फ्लाइट सञ्चालन हुनुपर्छ र नाइट भिजन जडान हुनुपर्छ भनेर थियो । हाम्रो सपना जुन थियो त्यो साकार हुदैँछ।’