वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्। 
बिहीबार काठमाडौँमा आयोजित वातावरणीय मानव अधिकार रक्षाको दोस्रो सम्मेलनमा बोल्दै उनले जाडो बढेसँगै वायु प्रदूषण पनि बढ्दै गएको भन्दै  मोटर गाडीहरूको सङ्ख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने बताए। 
उनले भने, ‘पहिलो कुरा हामीले देशको वायु प्रदूषणको श्रोत पहिचान गरी नियन्त्रणमा निगरानी राख्न आवश्यक छ। विशेष गरी मोटर गाडीहरूको सङ्ख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने छ। जलवायु प्रदूषण र वायु प्रदूषणको असर आजको मात्र नभएर भविष्यको पुस्ताको लागि पनि महत्त्वपूर्ण छ। त्यसैले हामीले आजै देखि यस विषयमा गम्भीर कदम चाल्नुपर्ने छ। जसले हाम्रो पर्यावरण र जनस्वास्थ्यलाई बचाउ गर्न सकिने छ।’ 
उनले सरकारले सार्वजनिक वातावरणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना अगाडि बढाएको पनि बताए। 
उनले भने, ‘सरकारले सार्वजनिक वातावरणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजनाहरू अगाडि बढाएको छ।’