मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गरेका छन्। ३० औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा उनले दोस्रो हाफमा गोल गरेका हुन्। 
खेलमा प्रमुख ११ को टिमले ५ गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले २ गोल गरेको छ। खेलमा जनप्रतिनिधिको नेतृत्व गर्दै प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खेल खेलेका थिए। महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गरेकी हुन्। 
प्रमुख ११ कातर्फबाट प्रमुख शाहसँगै सन्तोष ढुङ्गेलले २ गोल, नवीन भण्डारीले १ गोल र विनय शाक्यले १ गोल गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले २ गोल गरेका थिए। 
महानगर दिवसका अवसरमा भोलि परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थी स्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता वाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ। 
मङ्सिर २९ गते शनिवार बिहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुनेछ। त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ। त्यसै अवसरमा विभिन्न क्षेत्रगत रुपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान कार्यक्रम हुनेछ। ९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरुको स्टल, एक वडा एक नमुना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुनेछ।दिउँसो ३ बजेदेखि ब्यान्ड तथा कलाकारहरुको साङ्गीतिक प्रस्तुति हुनेछ।