ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता नबुझाउने उद्योगमा आज लाइन नकाटिने भएको छ।
महसुल बक्यौता उठाउने यसअघि नेपाल विद्युत प्राधिकरणले दिएको १५ दिनको म्याद आज सकिँदै छ ।तर, उद्योगीहरूले महसुल बक्यौता अझैसम्म पनि नतिरेको प्राधिकरणको दाबी छ।
१५ दिनको म्यादभित्र सम्पूर्ण महसुल बक्यौता उठाउन मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि प्राधिकरणले त्यसअनुसार उद्योगमा महसुलबापतको बिल पठाएको थियो।
तर, अधिकांश उद्योगीहरूले महसुल नतिरेको प्राधिकरणले जनाएको छ। महसुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने वा नकाट्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बोर्ड बैठक बसेर निर्णय नगरुन्जेल उद्योगमा लाइन नकाटिने बताए।
उनका अनुसार, आज साँझसम्म बोर्ड बैठक बस्ने तयारी रहेको छ। यसअघि मन्त्रिपरिषद्ले १५ दिनभित्र ‘टाइम अफ द डे’(टीओडी) मिटरका आधारमा महसुल बक्यौता उठाउने निर्णय गरेको थियो।