हाम्रा महान पर्वहरु तिथि अनुसार तलमाथि भइरहन्छन्। यसपालीको दशैं त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ। यसपालीको तिहारमा मंगलबारदेखि धनतेरस सुरुवात भएको छ। यसमा बिहान करिब साढे १० बजेसम्म द्धादशी छ। अनि त्यसपछि त्रयोदशी सुरु हुन्छ। त्रयोदशी सुरु हुँदा धनतेरसको पूजाआजा र खरिदारी गरिन्छ। त्यो ११ बजेपछिको समयलाई निर्धारण गरिन्छ। उदय त द्धादशीमा भएको थियो तर साधना अनुष्ठान बेलुकाको छ। बिहान गाईपूजा गरेर त्यही दिनको बेलुका दिपामालिका गर्ने चलन छ। तर यस पटक चाँही औँसीको तिथि जुन हुन्छ त्यो दिनमा नै यसलाई सुखरात्री भनेर भनिएको छ। यसपटक सुखरात्री एकदिन पहिले लक्ष्मिपूजा परेको छ।

यदाकदा यो अशुभ स्थितिहरु बन्नसक्छ। विषेशगरी हाम्रो धर्मशास्त्रमा चारवटा महारात्रीहरु छन्। त्यसमा कालरात्री, महारात्री, मोहरात्री र सुखरात्री। महारात्रीलाई शुभरात्री भनिन्छ। भगवान श्रीकृष्णको जन्म भएको दिनलाई मोहरात्री भनेर भनिन्छ। अनि दशैंको अष्टमीको रातलाई कालरात्रीको रुपमा मान्छौं । त्यसैगरी, लक्ष्मीपूजाको दिनलाई सुखरात्रीका रुपमा मनाउने गरेका छौँ। 

कार्तिक कृष्णपक्षमा यमपञ्चक पर्दछ। यो कहिल्यै पनि दाँयाबाँया हुँदैन। यसका शास्त्रीय तीनवटा कारणहरु छन्। शास्त्रको मर्यादाहरु पनि छन्। यसमा एउटा त देवासुत्संग्राम भएपछि जब देवदानवको युद्ध भयो तत्पश्चात एउटा सम्झौता भयो। समुन्द्रमन्थनको प्रस्ताव दुईवटै पक्षले स्विकार गर्यो। समुन्द्रमन्थन हुँदाखेरि १४ वटा रत्नहरु प्रकट भएका हुन्। अनि त्यहाँ एकातिर देउता र अर्कोतिर दानव भए। त्यहाँ एउटा नागलाई बनाएर विष हुने टाउकोतिर दानवहरु र पुच्छरतिर देउताहर बसे। त्यहीबाट १४ रत्न पत्ता लागेका हुन्।

लक्ष्मीजी पनि १४ रत्नबाट प्रकट भएकी हुन्। भगवान धनवन्तरी समुन्द्र मन्थनबाट नै प्रकट हुनुभएको हो । अनि भगवान धनवन्तरी लोक कल्यणका लागि, आफ्ना देव देवतालाई अमर बनाउनका लागि अमृत घडा लिएर प्रकट हुनुभयो। अनि यही त्रयोदशी र यशी प्रदोषकाल पनि त्यतिबेलै प्रकट हुनुभएको हो। त्यसैले यो त्रयोदशीलाई प्रदोष पनि भन्ने गरिन्छ। देवताहरुले अमरत्व प्राप्त गरेको दिनलाई धनवन्तरी भनेर पनि मान्ने गरिन्छ। शास्त्रमा हेर्ने हो भने मृत्युका देवता भनेर यमराजलाई भन्ने गरिन्छ। यमदेव मृत्यका देवता हुनुहुन्छ। र सुर्यपुत्र हुनुहुन्छ शनी। यम र शनी दाजुभाई हुन्। 

काग तिहारको प्रसंग उल्लेख गर्दा मृत्युको प्रसंग पनि जोडिन्छ। मृत्युले म आउँछु तयार भएर बस्नु भनेर त भन्दैन। मृत्युको सन्देश अप्रिय हुन्छ। कागले आखिरमा आफ्नो कर्तव्य पूरा गर्नेगर्छ। कागलाई सञ्चार माध्यमको रुपमा मानिन्छ। अहिले पनि गाँउघरमा काग आएर कतै बसेर करायो भने अशुभ मानिन्छ। त्यसले यमराजलाई सन्देश पुर्याउने काम गर्छ भन्ने विश्वास छ। साथै प्रकृतीको लागि पनि काग महत्वपूर्ण छ। 

विशेषगरी यमराजको दूतको रुपमा काग आउने गर्छन्। एउटा प्रकृतीको स्रोतको रुपमा अथवा संवाहकको रुपमा पूजा गरिन्छ। हरेक दिदीबहिनीलाई आफ्नो दाजुभाईले बोलाएको हुन्छन। त्योबेला केही अशुभ समाचार लिएर नआओस भनेर खुशी बनाउनको लागि प्रसादहरु दिएर कागको पूजा गर्ने गरिन्छ। 

त्यसैगरी कुकुरलाई भैरव र यमराजको द्वारपालको रुपमा पनि मानिन्छ। त्यही भएर यमसँग सम्बन्धित भएकाले पूजा गरिन्छ। त्यसपछि गौ पूजा गर्छौ। तिहारका हरेक दिन मृत्युसँग सम्बन्धित छन्। गाई भनेकै लक्ष्मी पनि मानिन्छ, गाईलाई लक्ष्मीलाई अर्को एउटा नाम मध्यमा सुरभी पनि भनिन्छ। गाईलाई सनातनमा जन्मदेखि मृत्युसम्मको सम्पूर्ण कर्महरुमा शुद्धताको रुपमा पुजिन्छ। गाईको गहूँतलाई जुनसुकै कर्ममा पनि प्रयोग गरिन्छ। त्यसैले वैतरणी गर्दापनि धर्म शास्त्रमा गाइको महत्व छ र संसारिक जीवनमा पनि लक्ष्मीको महत्व छ। गाईको सासदेखि दूध, गोबर जतिपनि गाइबाट प्राप्त हुने बस्तुहरु छन्। ती सबै लोकको कल्याण र जीवनको हितको लागि छन्। 

हाम्रो घरआँगन गाइको गोबरले लिप्ने चलन छ। पञ्चकको पहिलो पञ्चक नै घरमा गाइको गोबरले लिपेर शुद्ध गर्ने चलन छ। तेस्रो दिन भने हाम्रो देह, भाव, चरित्र, कर्म र आत्माशुद्धीको लागि पनि गाइको पहिले पूजा गरेर त्यसपछि लक्ष्मीको पूजा गरिन्छ। 

त्यसको भोलिपल्ट गोबर्धन पूजा गर्छौ त्यहाँ हाम्रो भगवान कृष्ण गोबर्धन पर्वत उठाएर सबैको रक्षा गर्नु भन्ने प्रसङ्ग छ। त्यो दिन अन्नकुट पर्वत र गोबर्धन पर्वत दुबैको पूजा हुन्छ। त्यस दिन अभावमा भएका मान्छेहरुको लागि अन्न दान गर्नु र अभाव भएकाहरुको लागि वस्त्र दान गर्नु, विशेषगरी अन्नको भोजन गराउनु, दिनदुखीहरुको कल्याण गर्नु, चाडपर्व मनाउनको लागि सामान जुटाएदिनु राम्रो हुन्छ। त्यसैगरी, नन्दी भगवान शिवसँग नजिक भएका हुनाले गोरुपूजा पनि गरिन्छ। गोरुलाई नन्दीको रुपमा र उसमा भएको धैर्यता, पराक्रम, बल सबैको लागि गोरु पूजा गरिन्छ । पूजा गर्नुको कारण एउटा प्रकृतीको पूजा पनि। अन्य धर्म, संस्कारमा गोरुको पूजा गरिदैँन् । सर्प, काग, कुकुरको पूजा गरिदैँन् । साथै नदी, पिपल, तुलसी, कुश सबै प्रकृतीमा भएका हितकर कुरा सबैलाई हामीले देवता मानेका छौँ। 

गोरु पूजा सम्पन्न भएपछि भाइलाई पूजा गर्ने चलन छ। सम्पूर्ण कर्म पूरा गरेको छु, अनुष्ठानमा बसेको छु र भाईको सेवाको लागि म एकदम समर्पित छु भन्ने भाव प्रकट गरिन्छ। सबै अन्न मिष्ठानका सामानहरु लिएर दिदीबहिनीले दाजुभाईलाई दिने र दाजुभाइले पनि दिदीबहिनीलाई चाहेको वस्तुहरु दिने चलन छ। जसले भाइटीकाका दिनमा आफ्नो बहिनिले बनाएर दिएको मिष्ठान अथवा पानी नै भएपनि श्रद्धाले दिएको छ भने श्रद्धाको साथै ग्रहण गर्नुपर्छ। उसको जीवनमा कहिले गरिबी आउदैँन्, प्रेमको अभाव हुदैँन। 

अब तिहार मनाउने प्रचलनको कुरा गर्दा भारत र नेपालमा भिन्न रहेको पाइन्छ। भारतमा दिवाली भन्छन्, नेपाल दिपावली भन्छौँ। हाम्रो दशैँ र अन्य हिन्दुको दशैँ फरक छ। संस्कृती एउटै हो भनेपनि धेरै कुराहरु फरक छन् । हाम्रो मौलिक पर्व हो भने उनीहरुको उत्सव मात्र हो। 

धन्तेरस हाम्रो होइन। त्रयोदशी तिथि त सबैको हो। जुन विश्वव्यापी मानिएको छ। प्रकृतिमा रहेको क्यालेन्डरलाई सबैले पलो गर्नैपर्छ। यमापञ्चकको प्रथम दिवस भनेको यमापञ्चकको प्रथम दिवस नै हो। त्यसलाई मान्ने तवर तरिकामा फरक होला। शास्त्रमा फलामका चिजहरु, औजारहरु नकिन्नु, केमिकलहरु नल्याउनु भनिएको छ। सकेसम्म पाँच दिन यमको र शनिको चिजहरु घरमा नल्याउनु सेलरोटी हाल्ने तेलपनि पहिले नै किन्नु भनिन्छ।

अर्को रोचक कुरा के छ भने लेदर अर्थात छाजाजन्य पदार्थबाट बस्तुहरु उपहार दिनु हुँदैन। लेदरका चिजहरु शनिमा पर्छन्। यस्तो उपहार कहिल्यै दिनुहुँदैन। घडी कहिल्यै पनि उपहार दिनु हुँदैन। किनकी काल पुरुषको केन्द्रविन्दु हो । कसैलाई सिध्याउनु छ भने जुत्ता या घडी दिनु आफै एक वर्षमा सिधिन्छ। कसैसँग सम्बन्ध टाढा राख्नु छ भने शनिबार छाता या जुत्ता उपहार दिनु उ आफैं टाढा भएर जान्छ। रत्न, कमलको आसनका चिजहरु सुगन्धीत अख्तरहरु घरमा ल्याउँदा राम्रो हुन्छ। फलाम छाडेर नयाँ केही न केही तामा, पित्तल, चाँदी, सुन जे सकिन्छ एउटा खरिद गर्दा राम्रो हुन्छ। धनियाँ ल्याएर यमपञ्चकभरी पूजा गरिन्छ। यसको अलग्गै महत्व छ।  

लक्ष्मीलाई बोलाउँदा नारायणसहितको आह्वान गर्यो भने घरमा राम्रो हुन्छ। नत्र दुई दिन आउनुहुन्छ पाहुनाको रुपमा फर्कनुहुन्छ। पूजा गर्दा लक्ष्मी नारायणसहित गर्नुपर्छ। विशेषगरी नवरत्नहरु नौ जिचहरु ,अमृतहरु र विभिन्न किसिमका जडिबुटीहरु अमृत घडा थापना गर्दा राम्रो हुन्छ। कालो हलेदो, सेतो हलेदो, पहेलो हलेदो, बेसार, धतुरोको विशेष महत्व छ। जसलाई भाइटीकामा जलले अभिषेक गरेर दिर्घायूको कामना गरिन्छ।