काग तिहारको अवसरमा बुधवार ‘२१औँ काग सम्मेलन’ गरिएको छ। 
एक सय भन्दा बढी जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलालले बुधवार २१औँ काग सम्मेलन गरेका हुन्। 
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए। 
उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन्। विगतका वर्षहरुमा रत्नपार्कस्थित शान्तीबाटिका गरिँदै आएको काग सम्मेलन यस वर्ष भने नारायणहिटी गेट अगाडि गरिएको हो। 
उनले आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए। 
दुलालले आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने बताए।  लालले कागबाहेक मुखैले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन्। गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए।
उनले भने, ‘ काग तिहारको दिन मैले काग सम्मेलन गरेको अहिले २१ वर्ष भयो। यमलोकको खबर यमराजलाई पठाउने दूतका रुपमा कागको पूजा गरिँदै आएको छ। पहिले मैले कार्यक्रम गरेर पत्रकार सम्मेलन गर्ने गर्दथे। कहिले भारतले नाकाबन्दी गर्दा सम्मेलन गरे। कहिले संविधान नबनेको भन्दै काग सम्मेलन गरे। कहिले एयरपोर्टमा काग सम्मेलन गरेर जाम गराइदिए। तर अहिले तिहारको समयमा काग तिहारका उपलक्ष्यमा काग सम्मेलन गरेको हो।’