बेलबारीमा रहेको एउटा फर्निचरमा मंगलबार राति आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ।

बेलबारी नगरपालिका–७ नहर चोकमा गणेश भनिने भदीलाल चौधरीले सञ्चालन गर्दै आएको गणेश काष्ठ उद्योग नामको फर्निचरमा राति १० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। आगोले काठबाट बनेका दराज, पलङसहित फर्निचरका सामान राखिएको घर जलेर ध्वस्त भएको छ।

प्रहरीले आगलागीमा १५ लाख बराबरको क्षति भएको जनाएको छ। प्रहरीका अनुसार स्थानीय र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान सुरु गरिएको बताए।