यस वर्षको मनसुन मङ्गलवार देखिनै काठमाडौँ उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट बाहिरिए पनि केही भेगमा मनसुनी वायुको प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोसी र मधेस प्रदेशका अधिकांश भूभाग तथा बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव देखिएको छ ।
बिहीबार बिहान देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहीबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ।
कोसी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशसहित बाँकी पहाडी भूभागका एकदुई स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
महाशाखाले यसअघि नै यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी\नवमी (२५ गते) र दशमी .(२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइसकेको छ ।
नेपालमा यही असोज २० गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो। यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो।




















