मोरङको बेलबारी नगरपालिका ४ मा नेपाली कांग्रेसनिकट भातृ सङ्गठन नेपाल महिला सङ्घको वडा कार्यसमिति पुनर्गठन गरिएको छ । पूर्णकुमारी घलेको सभापतित्वमा गठित सङ्घको नयाँ कार्यसमितिमा तुलसा काफ्ले र सीता खवास उपसभापति रहेका छन् । पदममाया कार्की र निर्मला सोताङ सचिवको भूमिका निर्वाचित भएको कार्यसमितिको सहसचिवमा बिमला लाखे र गीता न्यौपाने चयन भएका छन् । समितिका सदस्यहरूमा वसन्ती चौधरी, कुमारी विश्वकर्मा, रिमा श्रेष्ठ, राधा खवास, बिमलादेवी पराजुली, प्रमिला राई, देवी कालीकोटे, सीता गुरुङ, कौशिला चौधरी, अञ्जु कार्की, सुमित्रा सुनाम र कुमारी राईलाई चयन गरिएको नेपाली काङ्ग्रेस बेलबारीले जनाएको छ । सङ्का सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यक्रमका अवसरमा पार्टीका स्थानीय ज्येष्ठ कृयाशील सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो । सो अवसरमा पार्टीका २३ जना ज्येष्ठ कृयाशील सदस्यहरू सम्मानित भएका थिए ।

462146141_930855425734240_1109133923916041655_n

सङ्घ पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य महेन्द्र सुवेदीले नेपाली काङ्ग्रेसको पार्टीगत इतिहासमा पार्टीका ज्येष्ठ सदस्यहरूको महत्वपूर्ण योगदान रहेको बताए । बेलबारीका स्थानीय ज्येष्ठ सदस्यहरूले पनि पार्टीको अस्तित्व रक्षाका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै उनले आफूहरू पनि पार्टी हितमा काम गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस मोरङ जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धारमा ध्यान दिन सरकारलाई आग्रह गरे । नेपाली काङ्ग्रेस देशकै ठूलो पार्टी रहेको स्मरण गर्दै पार्टीका भातृ सङ्गठनलाई सुदृढ ढङ्गले अगाडि बढाउन कार्यकर्ता पङ्क्तिले भूमिका खेल्नुपर्ने उल्लेख गरे । भातृ सङ्गठनहरूको अधिवेशन दसैँलगत्तै सुरु हुने बताउँदै उनले अधिवेशनको तयारीमा केन्द्रित हुन कार्यकर्ताहरूको ध्यानाकर्षण गराए ।

462128736_930855329067583_7432344108712364359_n

नेपाली काङ्ग्रेस बेलबारी वडा नम्बर ४ का वडा समिति उपसभापति शेरबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि विजय तोलाङ्गी, पार्टीका मोरङ क्षेत्र नम्बर ३ का सचिव राजेन्द्र अधिकारी, पार्टीका बेलबारी नगर सभापति छत्र लिम्बू, पार्टीकी बेलबारी नगर उपसभापति तथा बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइराला लगायतको उपस्थिति रहेको थियो ।