नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले निर्वाचन आयोग अब इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा जानुपर्ने बताएका छन्। 
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन पद्धतिमा धेरै नै सुधार आएपनि भोट गन्ने कुरामा अझै समस्याहरू देखिएको भन्दै यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जानुपर्ने बताएका हुन्। 
उनले भने, ‘निर्वाचन आयोगले सोच्नुपर्ने के हो भने अब विद्युतीय मतदान प्रक्रियामा जानुपर्छ। यसको सफल प्रयोग भारतमा भएको छ। अहिले पनि निर्वाचन पद्धतिमा धेरै नै सुधार भएको छ। मतदाताहरुको अधिकार सुनिश्चित भएको छ। भोट सुरक्षित रुपमा दिने अवस्था बनेको छ। भोट गन्ने कुरामा भने अझै केही समस्याहरू देखिएका छन्। यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जाने कुरालाई नै छलफलमा अगाडि लानुपर्छ। यसमा दलहरुले नै अगुवाइ गर्नुपर्छ।’ 
यस्तै, उनले राष्ट्रपति उपराष्ट्रपतिहरुको कुरामा पनि देखिएका विरोधहरुलाई पनि अन्त्य गर्नुपर्ने बताए। 
यसको साथै, कुनै पनि कारणले प्रतिनिधित्व भएन भन्ने कुराको अन्त्य हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस सधैँ यसको हकमा रहेको पनि उनको भनाई छ। 
उनले भने, ‘दलित महिलाहरुको हकमा केही समस्याहरू छन्। दलितको पनि प्रत्यक्ष सुनिश्चित गर्दा कुन ठाउँको दलितहरुको सङ्ख्या कति छ त्यो हिसाबले रोटेशन गर्नुपर्छ। नेपाली काङ्ग्रेस सधैँ यसको हकमा छ। कुनै पनि कारणले कसैले पनि हाम्रो प्रतिनिधित्व भएन भन्ने कुरा हट्नुपर्छ। सबै समान हुनुपर्छ। ८४ को चुनाव अगाडि संविधान संशोधनको कार्य अघि लैजानुपर्छ।’