भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीय बासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। सोमबार बिहान पनि स्थानीय कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्।
भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ।
विगत लामो समयदेखि केन्द्रमा भइरहेको व्यथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि सुनुवाइ नभएपछि आन्दोलनलाई निरन्तरता दिनुपरेको उनीहरुको भनाइ छ।
यसअघि आन्दोलनकारीहरुले केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गर्दै शुक्रवार स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए। अनियमितता, भ्रष्टाचार र मानव अङ्ग तस्करीमा संलग्न भएको भन्दै डा.श्रेष्ठलाई कारबाही स्वरूप बर्खास्तको माग गरेका थिए।
आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनः बहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको ब्यानर बोकेर प्रदर्शन गरेका हुन्।
केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पताल भित्र हुने सबै प्रकार सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीहरूको रोकिएको तबल भत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ।