मोरङको सुन्दरहरैँचामा निजी स्कुलका शिक्षकले विद्यार्थीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–१० स्थित बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षक विजय राईको कुटाइबाट कक्षा ६ मा अध्ययनरत बालिका घाइते भएकी छन् । पाइपले निर्घात कुटपिट गर्दा बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

पीडित पक्षलाई दबाब दिएर घटना भने मिलाइएको फेला परेको छ । सुन्दरहरैँचा–९ घर भएकी ११ वर्षीया बालिकालाई शिक्षक राईले असोज ४ गते शुक्रबार कुटपिट गरेको प्रहरीले जनाएको छ । संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका राई सुन्दरहरैँचा–१२ मा बस्दै आएका छन् । बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षक उनी गणीत विषय पढाउँछन् ।

अभिभावकका अनुसार लेखाइ गल्ती भएको र नपढेको भन्दै शिक्षक राईले पाइपले कुटपिट गर्दा घाइते भएकी बालिकाको विराट चोकस्थित सुकुना सामुदायिक अस्पतालमा उपचार गराइएको थियो । चौतर्फी दबाब दिएर अभिभावकलाई कानुनी कारबाहीमा जान रोक लगाउँदै घटना सामसुम पारिएको छ ।

शिक्षकले बालिकालाई मरणासन्न हुनेगरी कुटपिट गरेको भन्दै अभिभावक इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेका थिए । उनीहरुले कारबाहीको माग राखेर शिक्षकविरुद्ध किटानी जाहेरी दिन खोजेका थिए । तर, जाहेरी दिनबाट रोक लगाइयो । घाइते बालिकाका बुवाले सबैको दबाबका कारण कुटपिटमा संलग्न शिक्षकविरुद्ध जाहेरी दिन नपाएको गुनासो गरे ।

उनका अनुसार शिक्षकले शरीरका विभिन्न भागमा अन्धाधुन्ध पाइपले कुटपिट गरेका हुन् । ‘कुटपिटबाट छोरीको शरीरमा धेरै चोटपटक लागेको छ । कुटाइ पनि कति हो कति,’ उनी भन्छन्, ‘शरीरको पछाडिको भागमा अति धेरै चोटपटक छ । छोरी अहिलेसम्म राम्ररी उठ्न र हिँडडुल गर्न सकिरहेकी छैनन् ।’

बालिका निद्रामा पनि डराउने र तर्सिने गरिरहेको अभिभावक बताउँछन् । पीडा सहन नसकेर छोरी रुने र विद्यालय जान नमान्ने गरेको बुवाले बताए । ‘हामीले थाहा पाउँदा शौचालयसमेत जान सक्ने अवस्था थिएन । शौचालय पनि साथीहरुले लगेछन् । अमानवीय तरिकाले कुटपिट गरिएको छ । चोटपटक हेर्दा शरीर नै सिरिङ्ग हुन्छ । अहिलेसमेत राम्ररी हिँडडुल गर्नसक्ने अवस्था छैन । डरका कारण विद्यालय जान नमान्ने गरेकी छन्,’ उनले भने ।

उनका अनुसार शिक्षकले एकोहोरो कुटपिट गरेर घाइते बनाएको छोरी र साथीहरुले बताएका छन् । आफू कुटपिटमा संलग्न शिक्षकलाई मुद्दा हाल्नुपर्छ भन्ने पक्षमा भएपनि अरुले दबाब दिएका कारण सम्भव नभएको उनको गुनासो छ । ‘गाउँघरको घटना भएकाले मिल्नुपर्छ । मुद्दा मामिला गर्नु हुँदैन भनेर सबैले दबाब दिए,’ उनले भने, ‘आगामी दिनमा यस्तो घटना नहोर्याउने भनी कागज गरेर छाडिएको छ । छोरीको अवस्था हेर्दा चैं आफ्नै आँसु थामिदैन ।’ घटनाका बारेमा इलाका प्रहरी कार्यालयमा बेलबारीमा छलफल र मिलापत्र भएको बालिकाका बाबुको भनाइ छ ।

उनका अनुसार शिक्षक राईले स्कुलमा अरु बालबच्चालाई पनि कुटपिट गरेको कुरा विद्यार्थीहरुले सुनाएका छन् । ‘मेरी छोरीलाई कुटेको दिन अरु २ जनालाई पनि कुटपिट गरिएको रहेछ । अरुलाई चोटपटक लागेन । मेरी छोरीलाई चैं मरणासन्न हुने गरी कुटेछन् । शरीरभरि चोट छ । धदौ १७ गतेसमेत विद्यार्थीलाई कुटपिट गरेका रहेछन् । निजी स्कुलमा शिक्षकको अत्याचार धेरै भयो । बालबालिकामाथि बारम्बार कुटपिट भइरहेको खुल्यो,’ उनले भने ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री घटनाका बारेमा जानकार भए पनि कारबाही अघि बढाउन नपाइएको बताउँछन् । कुटपिटमा संलग्न शिक्षकसँग सहमति गरेर जाहेरी नदिइकन पीडित पक्ष गएकाले कारबाही प्रक्रिया अघि बढाउन नसकिएको खत्रीको भनाइ छ ।

बाल प्रतिभा बोर्डिङ स्कुलका प्रिन्सिपल गणेशप्रसाद दाहालले भने घटना सामान्य भएकाले समाचार नै बनाउनुपर्ने खालको नभएको बताए । ‘शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको भएपनि अभिभावकसँग कुरा मिलिसक्यो । अबदेखि त्यस्तो गल्ती नगर्ने सहमति शिक्षक र अभिभावकबीच भएको छ । बाहिर भन्नैपर्ने गरिको घटना भएको हैन । हामीसँग अभिभावकहरु हातेमालो गरेर जानुभयो । अहिले सबै कुरा सामान्य भइसकेको छ,’ उनले भने ।


शिक्षकले कुटपिट गरेर बालिकालाई घाइते बनाएको गुनासो अभिभावकले गरेपछि २ पक्षलाई राखेर छलफल गरिएको बताउँदै दाहालले अन्यथा सोच्न र थप प्रक्रियामा जान आवश्यक नभएको जिकिर गरे । ‘विद्यार्थी कुट्ने शिक्षकलाई हामीले कारबाही गरेका छैनौं । अबदेखि उहाँ (शिक्षक)ले नै म पढाउन आउँदिन भन्नु भएको छ,’ दाहाल भन्छन् । घटनाका बारेमा बुझ्न खोज्दा दाहालले समाचार नलेखिदिन आग्रह गरेका थिए ।

स्रोत : pradeskhabar.com